लमजुङ जिल्लाको सदरमुकाम वेशिसहर बाट दक्षिणतर्फ करिब ३५ किलोमिटर दुरीमा रहेको प्राकृतिक छटाले भरिपूर्ण यस चक्रतीर्थ गा.बि.स. को पूर्वमा भलायखर्क गा.वि.स. पश्चिममा धमिलिकुवा गा.वि.स. उत्तरमा मोहोरियाकोट गा.वि.स. र दक्षिणमा चेपे नदी पर्दछ । भौगोलिक रुपमा हेर्दा यस गा.वि.स. समथर मैदानी भू–भागको कमी भई धेरै जसो भाग पहाडी थुम्को र डाँडाकाडाँहरुले भरिएको छ । सडक मार्गले भने हालसम्म यो गा.वि.स. लाई छोएको छैन । गोरेटो एंव घोरेटो बाटोले नै एक अर्कौ स्थानलाई जोडेको पाईन्छ । उकाली एंव ओराली त यस ठाउँको भौगोलिक स्वरुपको प्रमुख विशेषता हो । जुन ठाउँको मानव जातीको लागि कुनै नौलो कुरा छैन । यस गा.वि.स. लाई विभिन्न प्राकृतिक सुन्दरताले सिंगारिएको छ । सुन्दर हरियाली वनजंगलले भरिएका पाखा पखेरा र राइनसकोट जस्ता टाकुरो प्राचीन समयदेखि धार्मिक पवित्र स्थलको रुपमा रहेको शाह वंशीय राजा नरहरी शाहको राज्य राइनरकोटको फेदिमा अवस्थित यो चक्रतीर्थ गा.वि.स. तिनै डाँडा पाखाहरुमा बसन्त ऋतुमा लालीगुराँस फुलेर प्रकृतिले आÏनो सौन्दर्यता छताछुल्ल बनाएर पोखी दिंदा जो कोही पनि मोहित हुन पुग्छन् यसरी काफल एंसेलु पाकेर वनपाखमा मगमग वास्ना चल्न थल्छन् त्यसरी तित्रा कालिज जस्ता चराहरुले समेत यहाँको शोभा बढाएका छन् । कोईली र काफल पाक्यो चरीको मधुर स्वरले जो कोही पनि मन्त्रमुग्ध हुन पुग्दछन् । स–साना खालानाला, हरियाली वनजंगल, दक्षिण तर्फ हरियाली समथर फाँटमा विविध किसिमका वालीनालीहरुले यहाँको सौन्दर्य बढाएको छ । चक्रतीर्थ गा.वि.स. वडा नं. ८ तीनपिप्ले स्थित श्री शिशु विद्याश्रम मा.वि. जिल्ला सदरमुकाम वेशिसहर बाट करिब ३५ किलोमिटर दक्षिण–पूर्व दिशामा अवस्थित छ । विद्यालय रहेको स्थान कच्चि मोटर बाटोले छोएको छ । विद्यालय समुदायको स्वच्छ, सुन्दर एंव आकर्षक स्थानमा रहेको छ । जहाँबाट अबिरल बग्ने चेपेनदि (चम्पावती) को काखमा बगेको चिसो हावा आदिले वरपरको वातावरण स्वच्छ र सुन्दर बनाएको छ । विद्यालय वरपर खेतीयोग्य भूमि गाउँ र वनजंगल रहेको छ । जहाँबाट पहाडी झरना सुन्दर हिमाली दृश्य र हरियाली वनजंगलको ढाकिएको पहाड भञ्ज्याङ र टाकुराहरु देख्न सकिन्छ । यी दृश्यहरु देख्दा जो कोही मानिसहरुले पैदल यात्रावाट यस स्थानमा आईपुग्दाको थकाई सजिलैसंग विर्सन पुग्दछन् । यस विद्यालयको सेवा क्षेत्रलाई हेर्दा प्रा.वि. तहको सेवा क्षेत्र सिमित छ । नि.मा.वि. तहको सेवा क्षेत्र भने विस्तृत छ । प्रा.वि. तहको १ देखि ३ कक्षासम्मको सेवाक्षेत्र चक्रतीर्थ ७,८,९ मा सिमित रहेको छ भने कक्षा ४ देखि सेवा क्षेत्र व्यापक हुदैं गएको छ । कक्षा ४–१० सम्म चक्रतीर्थ ५,६,७,८ र ९ वडाहरु धमिलिकुवा गा.वि.स. का वडा नं. ६ मेजरगाउँ र वडा नं. ८ अाँपचौरसम्म सेवा क्षेत्र रहेको छ । यस सेवा क्षेत्र भित्रको मुख्य वस्ती र समुदायवाट विद्यालय पुग्न १ घण्टा देखि डेढ घण्टासम्म समय लाग्ने देखिन्छ । विद्यालयको सवभन्दा नजिकको सेवा क्षेत्र भनेको तीनपिप्ले हो ।